https://www.nayapatrikadaily.com/news-details/32192/2019-12-26?fbclid=IwAR3zjwjAKK3F9GBV-_vZBtWnWUBYHMj-SfhYwOT4LOvHXqr729-j5VTnd9Q
नेपाली महिला : एक सुषुप्त ज्वालामुुखी
त्रिविजस्तो प्राज्ञिक थलोमा हिंस्रक पितृसत्तात्मक सोच र सामन्तवाद हाबी हुनु गलत हो, ‘त्रिविभित्रको भालेवाद’ सच्चिनुको विकल्प छैन
मलाई लाग्छ, हरेक नेपाली महिलाभित्र एउटा सुषुप्त ज्वालामुखी छ । बाल्यकालदेखि परिवार, विद्यालय र विश्वविद्यालयमा पढ्दासम्म भोगेका विभिन्न दुव्र्यवहार खातमाथि खात भएर हाम्रा मनका ‘म्याग्मा च्याम्बर’हरूमा विद्रोहको लाभा भरिँदै जाने रहेछ । त्यसमाथि झन् एउटा निश्चित अनुभव, क्षमता र उच्च शिक्षा प्राप्त गरिसकेपछि पनि कार्यक्षेत्रमा समेत दुव्र्यवहार भोग्नुपर्दा त्यो सुषुप्त ज्वालामुखी विस्फोट हुने रहेछ ।
मलाई लाग्छ, हरेक नेपाली महिलाभित्र एउटा सुषुप्त ज्वालामुखी छ । बाल्यकालदेखि परिवार, विद्यालय र विश्वविद्यालयमा पढ्दासम्म भोगेका विभिन्न दुव्र्यवहार खातमाथि खात भएर हाम्रा मनका ‘म्याग्मा च्याम्बर’हरूमा विद्रोहको लाभा भरिँदै जाने रहेछ । त्यसमाथि झन् एउटा निश्चित अनुभव, क्षमता र उच्च शिक्षा प्राप्त गरिसकेपछि पनि कार्यक्षेत्रमा समेत दुव्र्यवहार भोग्नुपर्दा त्यो सुषुप्त ज्वालामुखी विस्फोट हुने रहेछ ।
म अहिले त्यही विस्फोटनको प्रक्रियामा छु । मभित्रका विद्रोहका लाभा अब भित्र अडिन नसकेर बाहिर निस्किरहेछन्, ती कहिले सामाजिक सञ्जालमा त कहिले सम्बन्धित पदाधिकारीसामु पोखिन्छन् । अहिलेको यो लेख पनि त्यही ज्वालामुखीको रापको बलले निस्किएको हो । तर, बाहिर विस्फोट हुन सक्नु पनि एउटा सहुलियत नै रहेछ, जो सबैसँग उपलब्ध हुँदैन । बाहिर विस्फोट हुन नसकेका ज्वालामुखीरूपी महिला भित्रभित्रै कतै आफैँ भस्म त भइरहेका छैनन् ?
गत साता त्रिवि कीर्तिपुुर परिसरभित्र मैले दुव्र्यवहार भोगेँ । यस्तो किसिमको दुव्र्यवहार महिलाले दिनहुँ भोग्छन् । हामी नेपाली महिलाले भोगेका दुव्र्यवहारको शृंखला अन्त्यहीन छ । यो कहाँबाट सुरु भयो र कहाँ गएर टुंगिन्छ, यसै भन्न सकिने आधार छैन । मैले विद्यालयमा भोगेँ, चुप बसेँ । मैले फेरि दुव्र्यवहार भोगेँ, नेपालका एक कथित पाका महान् संगीतकारबाट, जसकोमा म निरन्तर संगीत सिक्न जान्थेँ । मैले फेरि पनि भोगेँ, आफ्नो पहिलो काम गर्ने थलोमा, जहाँ म एक स्वयंसेवक शिक्षकका रूपमा काम गर्ने गर्थें । यी सब घटनाले मलाई धेरै पीडा दिए । म लामो समयसम्म एक मानसिक अवसादमा फसेँ । अझै पनि यी घटनाको सम्झना हुँदा पीडा हुन्छ । ‘तिमी किन बोलेनौ’ ? हिंसापीडित महिलालाई प्रायः सोधिने प्रश्न हुन् यी । तर, हामीमध्ये कतिले बुझेका छौँ, सबै महिला बोल्न सक्ने स्थितिमा हुँदैनन् ।
महिलाले आफूमाथि हिंसा भएको बुझ्ने र बोल्न सक्ने भए पनि हाम्रो समाजमा हिंसापीडितलाई हेर्ने दृिष्टकोण सकारात्मक छैन । लैंगिक हिंसालाई म शक्ति सम्बन्धसँग जोडेर हेर्छु, र हाम्रो समाजमा केही सकारात्मक परिवर्तन हुँदाहुँदै पनि लगभग सबै सामाजिक संरचना र संस्थामा पुरुष नै शक्तिकेन्द्रमा रहेका हुनाले महिला पुरुषको तुलनामा हिंसाको बढी जोखिममा छन् । र, जब हिंसापीडित महिला आफूमाथि भएको दुव्र्यवहारबारे बोल्छन्, समाजमा उनीहरूकै चरित्रमाथि प्रश्न गरिन्छ ।
अनि त्यो हिंसा भोग्नुमा उनीहरू नै जिम्मवार भएजस्तो गरी ‘यसो गरेको भए त्यस्तो हुँदैनथ्यो’ भनेर पीडितमाथि झन् दोहोरो मानसिक हिंसा हुन्छ । त्यति मात्र नभई पीडकले घटनाको पुनव्र्याख्या यसरी गर्छन्, जसले सुन्ने अन्य मानिसलाई पीडितकै गल्ती हो जस्तो लाग्छ । यसलाई ‘ग्यास लाइटिङ’ भनिन्छ । यसको परिणाम वरिपरिका सुन्ने मानिस पीडितको ‘मानसिक सन्तुलनमाथि प्रश्न गर्न थाल्छन् । अनि जब पीडितले आफूविरुद्ध भएको अन्यायबारे कुरा अगाडि राख्छन्, त्यसका कारण उल्टै पीडक आफैँले आफ्नो सामाजिक प्रतिष्ठा र मानसिक शान्ति गुमाएको आरोप पीडितमाथि लगाउँछ । अनि मानिसलाई पीडकप्रति नै सहानुभूति जाग्न थाल्छ । यो पीडकले अपनाउने एक मनोवैज्ञानिक हतियार हो ।
म एक मध्यम वर्गीय परिवारकी ४० वर्षीया महिला हुँ । प्रवासमा संघर्ष गरी दुई छोरा हुर्काउँदै विद्यावारिधिसम्मको शिक्षा पूरा गरी यही वर्ष एउटा उत्साहसाथ नेपाल फर्किएँ । मलाई चिन्ने मान्छेलाई थाहा छ, म एक दशकभन्दा बढी समय समाजशास्त्र र लैंगिक अध्ययनसँग सम्बन्धित विभिन्न विषय पढाउँछु । महिलाविरुद्ध हुने हिंसामा म लामो समयदेखि अनुसन्धान र पैरवीमा संलग्न छु । अरूको नजर र म स्वयं आफैँले मूल्यांकन गर्दा म हरेक हिसाबले एक सशक्त महिला हुँ । तर, गत साताको घटनाले मलाई म नेपाली समाजकै एक प्रतिनिधि महिला हुनुको ऐना देखाइदिएको छ । किनकि, म यतिन्जेल अरूका लागि बोलिरहेकी थिएँ । त्रिविभित्र हुने विभिन्न किसिमका दुव्र्यवहार अन्त्य हुनुपर्छ र यसलाई कम गर्न कडा नियम हुनुपर्छ भनेर सहकर्मीसँग मिलेर विभिन्न कार्यक्रमको संयोजन गरिरहेकी थिएँ ।
गत वर्ष त्रिविका विद्यार्थीमाथि विश्वविद्यालयका प्राध्यापकबाट दुव्र्यवहार भएको मिडियामा आयो । पीडितले उजुरी गर्ने सम्बन्धित निकाय नहुँदा, मिडियामा आउनु उहाँहरूको बाध्यता थियो । आरोपित मैले सम्मान गर्ने व्यक्ति थिए, जसलाई म राम्रोसँग चिन्थेँ । तर, मेरो नैतिक दायित्वले चुप बस्न दिएन । त्यतिखेर म विद्यावारिधि गर्ने क्रममा देशबाहिर थिएँ । मैले त्यतिखेर सम्बन्धित विभागका सिनियर विद्वान्लाई यस विषयमा केही गर्न अपिल पनि गरेँ, यो त्यतिखेरको कुरा हो जब पीडितले विभागको नाम पनि खुलाएका थिएनन् । मैले ती विद्यार्थीलाई चिन्थेँ र म बोलेँ, किनकि मेरो बुझाइमा यस्ता कुरामा चुप बस्नु भनेको यसको मौन समर्थन गर्नु हो । त्यस घटनापछि त्रिविभित्र यस विषयमा लामै बहस भएको छ ।
राष्ट्रिय तहमा नेपालमा कार्यस्थलभित्र हुने विभिन्न किसिमका दुव्र्यवहारलाई नियमन गर्न कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ आएको छ । ऐनअनुसार हरेक कार्यक्षेत्रका आआफ्नै नियम हुनु अत्यन्त जरुरी छ । यसैलाई आत्मसात् गर्दै त्रिविको समाजशास्त्र विभाग र लैंगिक अध्ययन विभागमा संलग्न केही प्राज्ञको पैरवीको फलस्वरूप तत्कालीन कायममुकायम उपकुलपति प्रा.डा सुधा त्रिपाठीको विशेष सक्रियतामा यही वर्ष दसैँअगाडि नै एउटा समिति बनेको थियो । त्यस समितिसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गरेर त्रिविमा विभिन्न किसिमका दुव्र्यवहार न्यूनीकरण गर्न र पीडितलाई न्याय दिने निकाय गठन गर्न सक्ने म्यान्डेट थियो । तीन महिना कार्यकाल रहेको यो समिति करिब पाँच महिना बितिसक्दा पनि निष्क्रिय नै रहेको देखिन्छ ।
जब ममाथि दुव्र्यवहार भयो, धेरैलाई त त्यो सानोतिनो घटना भन्ने नै लागेको रहेछ । तर, मेरा लागि त्यो सानो घटना थिएन । त्यस दुव्र्यवहारले मलाई शारीरिक चोट त पु¥यायो नै, त्योभन्दा बढी मेरो आत्मसम्मानमा ठेस पुग्यो । तर, मलाई पीडाभन्दा रिस नै बढी उठ्यो । मैले तत्काल पीडकले मलाई जे ग¥यो, त्यही गर्न सक्थेँ पनि होला । तर, आफूभन्दा निकै जेठो र अनुभवी व्यक्तिलाई त्यसो गर्न सक्ने शक्ति हामीमा हुन्न ।
मेरा लागि मैले पढेको विषय समाजशास्त्र र लैंगिक अध्ययन, फगत बुद्धिबिलासका लागि होइन । म आफू मेरो व्यक्तिगत र व्यावसायिक जीवनलाई कसरी अघि बढाउँछु भन्ने एउटा मार्गदर्शन पनि हो । हिंसामा पर्ने व्यक्ति सबैले व्यक्तिगत लडाइँ लड्न सक्दैनन् । र, म आफूले पनि त्यही समाधान खोज्नु भनेको मेरो विद्वत्तामाथि नै प्रश्न उठाउनु हो । मलाई थाहा थियो, त्रिविभित्र कुनै त्यस्तो नियम छैन, जसको सहारा लिएर मैले न्याय खोज्न सकूँ । तर, नियम भएन भन्दैमा पीडितहरू सधैँ चुप बस्न नहुने रहेछ । मेरो अनुभवले मलाई यही सिकायो । नियमन भएका ठाउँमा पनि हामीले औपचारिक रूपले न्याय खोज्यौँ भने त्यो आफैँमा नजिर पनि बन्ने रहेछ ।
यही सोचेर मैले सम्बन्धित विभागमा लिखित निवेदन दिएँ । आफूसम्बद्ध विभागका प्रमुखलाई पनि औपचारिक जानकारी गराएँ । यसबीच धेरै साथीभाइ र मिडियाकर्मीले सामाजिक सञ्जालमा मैले लेखेको विषयलाई आधार बनाएर घटनाको जानकारी माग्नुभयो । तर, मैले आरोपित व्यक्तिको नाम कुनै पनि सामाजिक सञ्जाल र व्यक्तिगत कुराकानीमा खुलाइनँ । मेरो लडाइँ व्यक्तिविरुद्धभन्दा पनि प्रवृत्तिविरुद्ध लक्षित थियो ।
बाहिर विस्फोट हुन सक्नु पनि एउटा सहुलियत नै रहेछ, जो सबैसँग उपलब्ध हुँदैन । बाहिर विस्फोट हुन नसकेका ज्वालामुखीरूपी महिला भित्रभित्रै कतै आफैँ भष्म त भइरहेका छैनन् ?
गत शुक्रबार सम्बन्धित विभागको बैठक बस्यो । मलाई पनि विभागीय प्रमुखले बोलाउनुभएकाले उपस्थित भएँ । हामी दुवै पक्षले एक–अर्काका कुरा सुन्यौँ र उहाँले आत्मालोचना गरेपछि मलाई न्याय मिलेको अनुभूति भयो । त्यसपछि हामीले अबका दिनमा हाम्रो पेसागत सम्बन्धलाई सम्माननीय र सुमधुर रहने प्रतिबद्धता गर्याैं । मलाई गर्व छ, त्यो बैठकमा उपस्थित सहकर्मीप्रति जसले सम्मानजनक वातावरणमा यो समस्यालाई समाधान गर्न सहयोग गर्नुभयो । थाहा छैन, त्रिविका कति विभागभित्र यो सम्भव छ, नेपालकै कति कार्यालयभित्र सम्भव छ ? सबै पीडामा परेकाहरू मैले जसरी बोल्न सक्ने स्थितिमा हुँदैनन् । मजस्तै बोल्न सक्ने भए पनि विनानियम, विनाकानुन कसैले न्याय पाउँदैनन् । फेरि त्यसमाथि आधाभन्दा बढी दुव्र्यवहारका घटना नियम बनेपछि कारबाही हुने डरले त्यसै पनि कम हुन्छन् ।
कार्यस्थलमा हुने विभिन्न दुव्र्यवहारको अधिकांश सिकार महिला नै हुने गर्छन् । तर, यसो भनिरहँदा सीमान्तकृत अवस्थामा रहेका पुरुष पनि त्यत्तिकै जोखिममा हुन्छन् भन्ने बिर्सन मिल्दैन । त्यसमाथि नेपालमा अधिकांश कार्यक्षेत्र अनौपचारिक छन्, अव्यवस्थित छन् । पेसागत मर्यादाभित्रका सम्मानित व्यवहार के–के हुन् भनेर व्यापक छलफल हुनु जरुरी छ । यसका लागि विशेषगरी शिक्षित पेसाकर्मीले आफैँ पनि अध्ययन गर्नु जरुरी छ । उच्च शिक्षा प्राप्त व्यक्तिले मैले थाहा नपाएर दुव्र्यवहार गरेको रहेछु भन्न सुहाउँदैन । र, यी कुरा बुझाउने मजस्तो भुक्तभोगीको जिम्मेवारी पनि होइन ।
यो घटना मेरा लागि पीडादायी भए पनि त्यसबाट केही सकारात्मक परिणाम आएको छ । हुन त मैले जेजति बोलेँ, गरेँ, केही मानिसले मैले आफ्नो पैरवीका लागि ‘उत्पादित पीडित’ खोजेँ भन्ने आरोप पनि लगाए । आफ्नो नियमित प्राध्यापन, अनुसन्धानलगायत घरपरिवारलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको म एक व्यस्त पेसाकर्मीको फुर्सद कसरी देखे मलाई थाहा छैन । माफ गर्नुस् महोदय, फुर्सद भए म छोराहरूसँग खेलेर बस्छु । मैले यस विषयमा गर्ने पैरवी मेरो प्राज्ञिक दायित्वको एउटा पाटो हो ।
म त्रिविमा कार्यरत एक महिला प्राज्ञको हिसाबले भन्न चाहन्छु, त्रिवि महिला विद्यार्थी, कर्मचारी र प्राज्ञका लागि अझै पनि सम्मानजनक बन्न सकेको छैन । त्रिविले महिलाको संख्या बढाउन गरेको रिजर्भेसन प्रशंसायोग्य छ । महिलाको संख्या बढाउने तर महिलालाई सम्मानजनक वातावरणमा आफ्नो काम गर्ने वातावरण नहुनु दुःखको कुरा हो । त्रिविजस्तो प्राज्ञिक थलोमा हिंस्रक पितृसत्तात्मक सोच र सामन्तवाद हाबी हुनु गलत हो र यसमा हामी सबैले आत्मालोचना नगरी सुखै छैन । मेरा एक पुरुष सहकर्मीले भनेअनुसार ‘त्रिविभित्रको भालेवाद’ सच्चिनुको विकल्प छैन ।
(खनाल त्रिवि समाजशास्त्र विभागमा प्राध्यापनरत छिन्)
No comments:
Post a Comment
Please share your comments